अध्यक्ष रेग्मी र एमाओवादी अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता
बिहान मन्त्रिपरिषद्का अध्यक्षको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दलहरूबीच विवादित संविधानसभा निर्वाचनका लागि आवश्यक ऐन र निर्वाचनको मिति घोषणाका विषयमा छलफल भएको बताइएको छ । दुईबीच भएको बैठकमा दलहरूबीचको सहमति र विवादका कारण आफुहरुले निर्वाचनसम्बन्धी कुनै काम गर्न नसकेको गुनासो रेग्मीले गरेको बताइएको छ ।
तीनदिनभित्र निर्वाचनको मिति घोषणा गर्ने भनिएपनि दलहरूबीचको विवाद कायमै रहेका कारण सरकारलाई आफ्नो हिसाबले अध्यादेश जारी गर्न अनुमति दिन समेत रेग्मीले प्रचण्डलाई आग्रह गरेको बताइएको छ । जवाफमा एमाओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच छलफल भइरहेको र भोलिको बैठकमा सहमति हुने विश्वास व्यक्त गरेको प्रचण्डका सहयोगी शिव खकुरेलले बताए ।
दलहरूले हिजोको बैठकमा सहमति गरेर सरकारलाई सुझाव सहितको सिफारिस गर्ने बताए पनि हिजो बैठक बस्न सकेको थिएन । संविधानसभा अध्यादेश, थ्रेसहोल्ड, समानुपातिक सिट सङ्ख्या, दल दर्ताका लागि आवश्यक हस्ताक्षर संख्या, उम्मेदवारले बुझाउनुपर्ने सम्पति विवरण लगायतका विषयमा दलहरूबीच विवाद रहेको छ ।

No comments: