देश निर्माणको शिक्षा दिन आवश्यक :राष्ट्रपति
देश निर्माणको शिक्षा दिन आवश्यक :राष्ट्रपति
काठमाडौं, २० बैसाख/
राष्ट्रपति डा. रामवरण यादवले असल संस्कार, राम्रो आचरण, चरित्रवान तथा कर्तव्यनिष्ठ जनशक्तिको उत्पादन आज सबैको चासोको विषय भएको र आजका विद्यार्थीहरूले नै भविष्यमा देश निर्माणको जिम्मा लिनुपर्ने भएकाले उनीहरूलाई देशप्रेम तथा देश निर्माणको शिक्षा दिनु आवश्यक रहेको बताउनुभएको छ ।
ज्ञानोदय माध्यमिक विद्यालय पुरानो कालीमाटीको स्वर्ण महोत्सवको आज यहाँ उदघाट्न गर्दै राष्ट्रपति डा यादवले राष्ट्रको सर्वाङ्गीण विकासका लागि सङ्ख्यात्मक शैक्षिक विस्तार मात्र भएर पुग्दैन भन्दै अन्तर्राष्ट्रिय मागअनुरुपको दक्ष एवम् असल जनशक्तिको उत्पादन आजको अनिवार्य आवश्यकता हो भन्नुभयो ।
‘अत्यन्त खुशी लाग्दछ की ९५ प्रतिशत विद्यार्थीलाई विद्यालयको पहुँचमा ल्याइएको जानकारीमा आएको छ तर त्यसलाई कसरी दिगो बनाउने भन्ने आवश्यकता छ, शिक्षामा सबै वर्ग र समूहको सहज र सरल पहुँच हुनुपर्छ,’ राष्ट्रपति डा यादवले भन्नुभयो ।
उहाँले शिक्षामा सबैको सहभागिता वृद्धि होस् भन्ने उद्देश्यले सरकारी तवरबाट पनि बजेटको ठूलो हिस्सा यसमा लगानी भएको सबैलाई विदितै भएको उहाँले उल्लेख गर्नुभयो ।
‘अझै दुर्गम क्षेत्रमा बसोबास गरेका र आर्थिक रूपले पछाडि परेका बहुसङ्ख्यक समुदायलाई शिक्षाको मूलधारमा समाहित गर्दै गुणात्मक एवम् नतिजामूलक शिक्षाको विकास गर्नु निश्चयनै ठूलो चुनौती भएकाले हाम्रो प्रयास त्यसतर्फ लक्षित हुन अनिवार्य हुन आउँछ,’ राष्ट्रपति डा. यादवले भन्नुभयो ।
उहाँले यसै वास्तविकतलाई दृष्टिगत गर्दै विश्व श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने विज्ञान र प्रविधिको युगमा आफ्नो समाजको परिवेश, बनावट एवम् आवश्यकताअनुरुपको शिक्षा प्रदान गर्नर्ुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रपति डा यादवले विद्यालयको स्वर्ण महोत्सव स्तम्भको पनि उद्घाटन गर्नुभयो ।
कार्यक्रममा राष्ट्रपति डा यादवले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू गोकर्णप्रसाद मिश्र, प्राडा ठाकुर पराजुली, केशवराज पौडेल तथा राधाकृष्ण शर्मालाई सम्मान एवम् कदरपत्र प्रदान गर्नुभयो ।
त्यसैगरी विद्यालयका पूर्व प्रधानाध्यापकहरू शिवनाथ लामिछाने, भवानी शर्मा, मन शर्मा, सानुकाजी केसी, रेवरत्न बज्राचार्य र वर्तमान प्रधानाध्यापक धनञ्जय शर्मा, जग्गादाता स्वर्गीय कान्छा महर्जनका सुपुत्र धर्मनारायण, चन्दादाता हिक्मतबहादुर माली तथा उत्कृष्ट विद्यार्थी जगदीश उप्रेती र नवीना भण्डारीलाई पनि राष्ट्रपति डा यादवले सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा शिक्षा विभागका सहसचिव महाश्रम शर्माले ९५ प्रतिशत बालबालिका विद्यालयसम्म पुगेको भए पनि उनीहरूको पढाइलाई निरन्तरा दिँदै शतप्रतिशत उत्तीर्ण गराउने अभियानलाई अघि बढाउने चुनौती रहेको बताउनुभयो ।
प्रधानाध्यापक शर्माले सामान्य टहरोबाट सुरु भएको ज्ञानोदय माविले अहिले पनि पर्याप्त स्रोत साधनका अभावका कारण आधुनिक स्तरको विज्ञान र प्रविधिको सेवा कोठासम्म पुर्याउन असफल रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलको सभापतित्वमा सो कार्यक्रम भएको थियो । रासस

No comments: