निमित्त क्याम्पस प्रमुखद्वारा आफ्नै कार्यकक्षमा तालाबन्दी
निमित्त क्याम्पस प्रमुखद्वारा आफ्नै कार्यकक्षमा तालाबन्दी
मकवानपुर, बैशाख २० –
विद्यार्थीले क्याम्पस प्रमुख, कर्मचारीले हाकिम तथा मजदुरले उद्योगमा तालाबन्दी गरेको समाचार त तपाईँ हामीले बेलाबेलामा पढेकै हो । तर कसैले आफ्नै कार्यकक्षमा तालावबन्दी गरेको सुन्नुभएको छ ?
हेटौंडामा रहेको फरेष्ट्री क्याम्पसका निमित्त प्रमुख रामलक्ष्मण प्रसाद यादवले शुक्रबार दिनभर आफ्नै कार्यकक्षमा तालाबन्दी गर्नुभयो ।
यादवको तालाबन्दी न कसैको विरोधमा थियो न बिदा भएर नै ।
क्याम्पसमा कार्यरत प्राध्यापकहरुबीच ससाना विषयमा पनि बिबाद हुने र आफुलाई हैरान पार्ने भएपछि निमित्त क्याम्पस प्रमुख यादवले आफ्नो कार्यकक्षमा तालाबन्दी गर्नुभएको हो ।
यादवले आफ्नो कार्यकक्षमा सुरक्षाका लागि मात्र तालाबन्दी गरेको बताउनुभयो ।
क्याम्पस बैशाख १३ गतेदेखि प्रमुख बिहीन बनेको छ । क्याम्पस प्रमुख मोहमद युसफ अन्सारीको पदावधि सकिएपनि क्याम्पस प्रमुख नियुक्त नहुँदा क्याम्पस प्रमुख बिहिन छ ।
क्याम्पसमा कार्यरत ३६ शिक्षक र ६५ जना कर्मचारीलाई तलब खुवाउन गएको मंसिरदेखि पैसा समेत नआएको क्याम्पसका लेखा प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । ‘कार्यालय प्रमुख नभएको बेलामा निमित्तका हैसियतले सबैले उहाँलाई नै समस्या पोखेकोले उहाँले कार्यालय बन्द गर्नुभएको होला’, तिवारीले भन्नुभयो ।
यतिमात्र हैन क्याम्पसमा बाँदरले पनि हैरान बनाउने रहेछ ।
‘क्याम्पसका शिक्षक तथा कर्मचारी आएर डिस्टर्ब गर्ने त छँदै छ, कुरा बाँदरले पनि हैरान पार्ने’, निमित्त क्याम्पस प्रमुख यादवले भन्नुभयो, ‘त्यसैले कार्यकक्ष बन्द गरेको हुँ ।’

No comments: