यस्तो छ कांग्रेसको चुनावको रणनीति
१३ साउन, काठमाडौं ।आगामी संविधानसभा निर्वाचनमा दुईतिहाई मत ल्याउने उद्धेश्यसहित नेपाली कांग्रेसले चुनावी रणनीति अघि सारेको छ । विगतको निर्वाचनमा कांग्रेसको मतदान समिति नै नभएकाले कार्यकर्ता एकिकृत गर्न नसकेका कारण हार व्यहोर्नुपरेको निष्कर्ष निकाल्दै यसपटक मतदान केन्द्र समितिसम्म नै प्रशिक्षण अभियान सुरु गरेको हो ।त्यसका लागि कांग्रेसले शनिबारदेखि प्रशिक्षक प्रशिक्षण अभियान सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति सुशील कोइरालाले अभियानको उद्घाटन गरेका हुन् । प्रशिक्षक प्रशिक्षण तीनदिनसम्म चल्नेछ । कांग्रेसले यसअघि क्षेत्रीय रुपमा महासमिति सदस्यहरु, पोखरामा जिल्ला सचिव र काठमाडौंको थलीमा क्षेत्रीय सभापतिहरुलाई प्रशिक्षण दिइसकेको छ ।२०६४ सालको मतपरिणाम हेर्दा कांग्रेसको मतदान केन्द्रसम्म पहुँच कमजोर भएको ठहर गर्दै मतदान केन्द्र स्तरीय समिति बनाएर प्रशिक्षण दिन लागिएको कांग्रेसले जनाएको छ ।त्यसका लागि प्रत्येक जिल्लाबाट दुई जनाका दरले १ सय ५०, विभिन्न भ्रातृसंगठन र शुभेच्छुक संस्थाबाट दुई÷दुई जना सहित विभिन्न क्षेत्रका व्यक्तिसहीत करिव २ सय ५० जनालाई कांग्रेसले प्रशिक्षक प्रशिक्षण दिन सुरु गरेको हो ।उनीहरुलाई ३ जनाको टोली बनाएर प्रत्येक क्षेत्रमा पठाउने उसले जनाएको छ । क्षेत्रगत रुपमा ५ देखि ६ जनालाई प्रशिक्षण दिइने र उनीहरु मतदान केन्द्रसम्म पुगेर प्रशिक्षण दिने गरी कांग्रेसले अभियान थालेको हो ।कांग्रेस र समसामयीक बिषय, कांग्रेसलाई लाग्ने गरेका आरोप र पार्टीको धारणा, कांग्रेस र प्रतिपक्षबीचको अन्तर, आसन्न निर्वाचनमा कसरी दुईतिहाई मत ल्याउन सकिन्छ भन्ने बिषयमा आन्तरिक प्रशिक्षण दिन थालिएको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । भदौभित्र सकेर असोजमा प्रशिक्षणको मुल्यांकन गर्ने कांग्रेसले जनाएको छ । पार्टीलाई वलियो बनाउने काम बुथ समितिको भएकाले त्यहींसम्म प्रशिक्षण अभियान लगिने बताए । प्रशिक्षण अभियानको उद्घाटन गर्दै कांग्रेस सभापति कोइरालाले कांग्रेसको दुईतिहाई आए कसैले आश्चर्य मान्नुनपर्ने बताए । “कांग्रेसले आगामी संविधानसभा निर्वाचनमा दुईतिहाई मत ल्याए कुनै आश्चर्य मान्नुपर्दैन,”सभापति कोइरालाले भने । उनले अहिले मुलुकमा प्रजातन्त्र र कांग्रेसको पक्षमा लहर देखिएकाले दुईतिहाई सुनिश्चित भएको समेत दावी गरे । उनले निर्वाचनको मुखैमा ‘प्याण्डोरा बक्स’ खोलेर सवैलाई तितरवितर गर्ने समय नभएकाले निर्वाचनमै केन्द्रीत हुनुपर्ने बताएको कारोबार दैनिकमा खबर छ ।

No comments: