Breaking News

अब ट्याक्सी ड्राइभरले ठग्न सक्दैन

taxi in kathmandu२४ साउन, काठमाडौ । काठमाडौ उपत्यकामा ट्याक्सीमा यात्रा गर्नेहरूका लागि यसको भाडादर टाउको दुखाइको विषय हो । ट्याक्सी चालकपिच्छे भाडादर फरकफरक हुँदा यात्रुले बढी भाडा तिर्नुपरेको गुनासो सुनिन्छ । सरकारले रूटअनुसारको भाडादर निर्धारण गरे पनि यसको कार्यान्वयन हुन नसक्दा धेरै यात्रु यस्तो समस्याबाट पीडित बनेका छन् ।

कतिपय यात्रुलाई त ट्याक्सीको भाडादरबारे जानकारी नहुँदा चालकले मनोमानी पैसा असुल्ने गर्छन् । तर, अब यात्रुले एप्लिकेशनमार्फत ट्याक्सीको भाडादर आफै थाहा पाउने भएका छन् । यात्रुहरूको यस्तो समस्या सम्बोधन गर्नेछ, ‘ट्याक्सी फेयर्स नेपाल’ एप्लिकेशनले ।

‘ट्याक्सी फेयर्स’ नेपालका ट्याक्सी यात्रुलाई लक्षित गरी एप्लिकाली नामक संस्थाले निर्माण गरेको हो । एण्ड्रोइड अपरेटिङ सिष्टम प्रयोग गरिएका सबै स्मार्टफोनमा यो चलाउन सकिन्छ । यो एप्लिकेशन ओपन गरेपछि यसको सबैभन्दा माथिल्लो भागमा ‘फ्रम’ र ‘टू’ अप्शन देख्न सकिन्छ । फ्रम अप्शनमा तपाईंले आफू ट्याक्सी चढेको स्थान राख्नुपर्ने हुन्छ । त्यस्तै आफू पुग्ने स्थानलाई टू अप्शनमा सेट गर्नुपर्छ । यसपछि तपाईं चढेको र पुग्ने स्थानसम्मको भाडादर यो एप्लिकेशनले उपलब्ध गराउँछ । त्यति मात्र होइन, यससँगै तपाईंले यात्रा गरेको दूरी तथा त्यसको दिउँसो र रातिको फरक भाडादरसमेत यसले देखाउँछ ।
एप्लिकेशनको सबैभन्दा तल तीनओटा अप्शनको व्यवस्था गरिएको छ । 

यसमध्ये पहिलो अप्शनमा क्लिक गरेपछि तपाईंले ट्याक्सीको प्रतिकिलोमिटर भाडादर, वेटिङ चार्ज (ट्याक्सी रोक्दा लाग्ने भाडा) र फ्ल्याग डाउन प्राइस (ट्याक्सी चढ्नासाथ लाग्ने भाडा)को जानकारी पाउनुहुनेछ । यहाँ सेट गरिएको भाडादर नेपाल सरकारले निर्धारण गरेकै हुन्छ । भाडादर परिवर्तन हुनासाथ यसमा पनि परिवर्तन आउने एप्लिकालीका अध्यक्ष निकोलस पाण्डेले बताए भने खबर आर्थिक अभियानमा छ । 

त्यस्तै यसको अर्को अप्शनमा भने प्रहरी कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था गरिएको छ, जहाँ ट्याक्सी नम्बर र तपाईंको गुनासो लेखेर प्रहरी कार्यालयमा पठाउन सक्नुहुन्छ । यसबापत टेलिकम नेटवर्कअनुसार प्रतिएसएमएसको शुल्क भने तिर्नुपर्छ । एप्लिकेशनको सबैभन्दा पुछारमा गूगल म्यापको व्यवस्था गरिएको छ । काठमाडौंमा पहिलोपटक यात्रा गरिरहेका व्यक्तिले पनि यो म्यापको प्रयोग गरी आफू जान लागेको स्थानबारे जानकारी लिन सक्छन् । यसबाट यात्रुलाई धेरै यात्रा गरेको भनी ट्याक्सी चालकले ठग्न पाउँदैनन् ।

२ सय रूट समावेश
यो एप्लिकेशन अहिले काठमाडौं उपत्यकाभित्रका ट्याक्सी यात्रुले मात्र उपभोग गर्न सक्छन् । अहिले यो एप्लिकेशनमा उपत्यकाका २ सयओटा फरकफरक रूट समावेश गरिएको छ । कम्पनी यो रूटलाई अझ बढाउने योजनामा रहेको पाण्डेले जानकारी दिए ।
उपत्यकाबाहिर छिट्टै सञ्चालन

एप्लिकालीले यो एप्लिकेशनलाई काठमाडौंबाहिर पनि प्रयोग गर्न सकिने गरी डाटाबेस उपलब्ध गराउने तयारी गरिरहेको छ । ‘अहिले हामी काठमाडौंबाहिरका केही शहर छनोट गर्ने तयारीमा छौं,’ पाण्डेले भने, ‘त्यसपछि ती शहरमा पनि प्रयोग गर्न सकिने गरी एप्लिकेशनमा डाटा उपलब्ध गराउँछौं ।’ ट्याक्सी चढ्दा धेरै ठगिने गुनासो आएपछि यस्तो एप्लिकेशन निर्माणको सोच आएको उनको भनाइ छ ।



How about this Article

No comments:

Leave a Reply