एमाओवादीले दुईतिहाइ मत ल्याउने सपना देखेको भए पूरा हुन दिँदैनौं: अध्यक्ष खनाल
नेकपा (एमाले) इलाम-काठमाडौँ सम्पर्क मञ्चद्वारा सहिद रत्नकुमार वान्तवाको ३४ औं स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष खनालले गत फागुन ३० गतेको सहमतिमा सकेसम्म असारभित्र र नभएमा मङ्सिरभित्र संविधानसभाको निर्वाचन गराउने स्पष्ट उल्लेख भएकाले आफ्नो पार्टी त्यसमा अडिग रहेको बताए ।
एमाले चाँडो निर्वाचनको पक्षमा भए पनि बिनातयारी निर्वाचन नहुने उनको भनाइ थियो।
एमाओवादीले निवर्तमान सरकारको पालामा सेट गरेको प्रशासनिक संयन्त्रलाई दुरुपयोग गरेर दुईतिहाइ मत ल्याउने सपना देखेको हो भने एमालेले त्यसलाई पूरा हुन नदिने पनि अध्यक्ष खनालले बताए ।
अध्यक्ष खनालले सहिद वान्तवाले सोचेको समृद्ध, सुन्दर र स्वतन्त्र नेपालको सपना पूरा गर्न कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न पनि आग्रह गरे।
पूर्व सभामुख सुवास नेम्बाङले एमाले एकताबद्ध भएर जाने हो भने बलियो शक्ति बन्ने र त्यस्तो अवस्थामा मुलुकले सङ्कटबाट पार पाउने धारणा व्यक्त गरे।
एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीहरु नेपथ्यमा बसेर बनाइएको गैरराजनीतिक नेतृत्वको सरकारले मुलुकको राजनीतिलाई 'लिक'मा ल्याउनेमा शङ्का रहे पनि तयारीसहित निर्वाचनमा जानुपर्नेमा जोड दिए।
एमालेका पोलिटब्युरो सदस्य प्रदीप नेपालले वान्तवाका योगदानबारे हालसम्म प्रकाशित सामग्रीको अध्ययन गर्न आग्रह गरे।
एमाले केन्द्रीय सम्पर्क विशेष समन्वय कमिटीका इन्चार्ज गङ्गालाल तुलाधरले एकजुट भएर निर्वाचनमा जानुपर्ने दायित्व एमालेको काँधमा आएको बताए ।
तत्कालीन मालेका कार्यकर्ता वान्तवालाई परिवर्तनमा होमिएका कारण पञ्चायती सरकारले २०३५ साल चैत २७ गते हत्या गरेको थियो।
कार्यक्रममा वान्तवा स्मृति प्रतिष्ठानका अध्यक्ष धरणीधर गौतम, एमाले मेची अञ्चल सम्पर्क कमिटीका अध्यक्ष इन्द्र भण्डारीलगायतले वान्तवाको व्यक्तित्वबारे चर्चा गरेका थिए । रासस

No comments: