Breaking News

क्रान्तिको लक्ष्य नभई बाटो मात्र परिवर्तनः डा. भट्टराई

बागलुङ, २७ चैत । एकीकृत माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले अहिले पार्टीले क्रान्तिको लक्ष्य नभई बाटो मात्र परिवर्तन गरेको बताउनुभएको छ ।
पार्टीले बाग्लुङमा गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले पार्टीले क्रान्तिको लक्ष्य नभई बाटो मात्र परिवर्तन गरेको बताउनुभएको हो । उहाँले १० वर्षे जनयुद्धले उचाई लिइसकेपछि पार्टी शान्तिप्रक्रियामा आएको भन्दै क्रान्तिको नयाँ बाटो कम जोखिमपूर्ण भएकाले अँगालिएको स्पष्ट पार्नुभयो ।
काँग्रेस र एमालेले राष्ट्रपतिलाई उचालेर निर्वाचन गराउन नदिएपछि प्रधानन्यायाधीशको नेतृत्वलाई अगाडि सार्न आफूहरू बाध्य भएको उपाध्यक्ष भट्टराईको भनाइ छ । भट्टराईले गणतन्त्र संस्थागत गर्न संघीयता महत्वपूर्ण हुने भन्दै संघीयताको विरोधको अर्थ नहुने बताउनुभयो ।
उपाध्यक्ष भट्टराईले आफूहरू सरकारमा रहँदा काम भएन भनी आलोचना गर्नेहरूतर्फ लक्षित गर्दै शान्तिप्रक्रियाको महत्वपूर्ण काम माओवादीको नेतृत्वमै सम्भव भएको जिकिर गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले अनियमिता गरेको भन्ने आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न चुनौतीसमेत दिनुभयो ।
पुरानो राज्यसत्ताले थुपारेको फोहोरलाई सफा गर्ने प्रयास गर्दा आफूहरूमा पनि केही दुर्गन्ध फैलिएको उहाँले भनाइ थियो ।
उपाध्यक्ष भट्टराईले धौलागिरीमा पर्यटन र जलविद्युतको प्रशस्त सम्भावना रहेको भन्दै आफूले सरकारमा रहँदा धौलागिरीमा पर्यटन र जलविद्युतको विकासका केही योजना अगाडि बढाएको जिकिर गर्नुभयो ।

How about this Article

No comments:

Leave a Reply