सवारी नियम पालना गराउन ट्राफिक प्रहरीको अनौठो अभियान
१३ जेठ, काठमाडौ । महानगरीय ट्राफिक प्रहरीले सवारी नियम पालना गराउन आइतबारदेखि अनौठो अभियान थालेको छ ।
पहिलो चरणमा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने मोटरसाइकल चालकलाई आदरपूर्वक निजको सवारीसाधन सडक किनारामा राखेर २० मिनेट निजले गरेको जस्तै गल्ती गर्ने अन्य चालकलाई नियन्त्रणमा लिनेछ ।
चालकलाई सचेत गराउन थालिएको सो अभियानअन्तर्गत नियम उल्लङ्घनकर्ताले ट्राफिक प्रहरीको 'ज्याकेट' लगाएर अन्य चालकलाई त्यसो नगर्न स्वयम्सेवकका रूपमा अनुरोध गर्नुपर्नेछ ।
आइतबार अपराहृन साढे तीनदेखि साढे पाँचबजेसम्म भद्रकालीबाट सिंहदरबारतर्फ आउने मोटरसाइकल चालकमध्ये नियमविपरीत चलाउने २०० जनालाई आदरपूर्वक प्रहरीले रोकेर स्वयम्सेवक बनाएको थियो ।
आफूले गरेको गल्तीबाट अरु सवारी साधनका चालकलाई कस्तो मर्का पर्छ र सवारी नियम उल्लङ्घन गर्दा आइपर्ने समस्याबारे सवारी आवागमनको व्यवस्था गरिरहेका ट्राफिक प्रहरीसँगै बसेर उनीहरूले अवलोकन मात्र गरेनन् 'ओभरटेक' गर्दै आएका एकजना मोटरसाइकल चालकलाई आफ्नो समूहमा सामेल गराए ।
प्रहरी निरीक्षक सुमनकुमार तिमल्सिनाको नेतृत्वमा खटिएको छ सदस्यीय ट्राफिक प्रहरी टोलीले मोडमा सङ्केत बत्ती नबाल्ने, दायाँ मोडिने सङ्केत बत्ती बालेर बायाँतिर लाग्ने, मोबाइल फोनमा कुरा गर्ने, आफ्नो 'लेन'मा सवारी नहाँक्ने, हेलमेटको फित्ता नलगाएका, सवारी स्वरूप परिवर्तन गरेर चलाएका, 'साइलेन्सर पाइप' फुटाएर ध्वनि प्रदूषण गर्दै हुँइकिएका चालकलाई स्वयम्सेवक बनाएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पवन गिरीका अनुसार सोमबारदेखि दैनिकरूपमा राजधानीका विभिन्न स्थानमा सो सचेतना अभियान सञ्चालन गरिने छ । "यहाँ छ लाख ५० हजार मोटरसाइकल चल्छन् र गत आर्थिक वर्षको आँकडाले १२७ जनाको ज्यान गएको देखाउँछ," चारपाङ्ग्रे सवारी साधनबाट बिरलै दुर्घटना हुने र ज्यान जाने गरेको जानकारी दिँदै उनले भने ।
चालकहरूलाई कारबाहीभन्दा पनि सचेत गराउने र सडक अनुशासन कायम गर्ने उद्देश्यले सो अभियान थालिएको उनको कथन थियो । रासस

No comments: