Breaking News

प्रहरीमा ६ हजार जनशक्ति थपिने


काठमाडौं , वैशाख २३ – संविधानसभा निर्वाचन सुरक्षाका कारण सरकारले दरबन्दी थपेको तीन वर्षपछि बल्ल नेपाल प्रहरीमा छ हजार जनशक्ति थप्ने भएको छ । नयाँ भर्नानिम्ति आवश्यक बजेटसम्बन्धी फायल अर्थ मन्त्रालयमा पुगेको अधिकारीहरूले बताए ।
image (12)
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीकै पहलमा यससम्बन्धी फायल अघि बढेको हो । अर्थमन्त्री शंकर कोइराला विदेश भ्रमणबाट र्फकनेबित्तिकै बजेट विनियोजन हुने ती अधिकारीले उल्लेख गरे ।
६ हजारमध्ये १ हजार ७ सय ५० जना न्यायालय सुरक्षाका लागि खटिनेछन् । गत वर्ष सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएपछि न्यायालय सुरक्षाका लागि विशेष रूपमा प्रहरी परिचालन गर्ने योजना बनेको हो । आगामी मंसिरभित्रमा चुनाव हुने अपेक्षाअनुरूप तुरुन्तै भर्ना खोलेर तालिम सुरु गरिने अधिकारीहरूको भनाइ छ । चुनावमा तालिमरत प्रहरी जवान र अधिकृतहरूलाई पनि खटाइने जानकारी उनीहरूले दिए ।
लामो समयदेखि नेपाल प्रहरीमा दरबन्दी थपिएको छैन । निवृत्त भएर खाली भएकामा मात्रै भर्ना लिइँदै आएको छ । सहरी क्षेत्रमा बढ्दो जनसंख्याले सिर्जना गरेको सुरक्षा चुनौती धान्न वर्तमान प्रहरी संख्या निकै अपुग छ । नेपाल प्रहरीमा अहिले ६१ हजार मात्रै जनशक्ति छ  ।

How about this Article

No comments:

Leave a Reply