रक्सी खाँदा ७ को मृत्यु, कैयौ अन्धो
२१ जेठ, एजेन्सी । घरमा बनेको रक्सी खाँदा ७ जनाको मृत्यु भएको छ भने कैयौ मानिस अन्धो भएका छन् र ३ सय भन्दा बढी मानिस बिरामी परेका छन् ।
दक्षिणी इरानको राफसान्जनमा भएको उक्त घटनाका कारण त्यहाँका अस्पतालहरु भरिएका छन् । अल्कोहलमा रहेको विषका कारण ७ जनाको ज्यान गएको र अन्य घाइते तथा अन्धो भएको त्यहाँका चिकित्सकहरूले बताएका छन् ।
अस्पतालका अनुसार मृत्यु हुने सबै २७ वर्षभन्दा कम उमेरका रहेको बताइएको छ । ७५ जना मानिस राफसान्जनको एक अस्पतालमा उपचार गराइरहेका छन् भने अन्य धेरै बिरामीको केरमान राज्यका विभिन्न अस्पतालमा उपचार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । केही बिरामीहरूको डाइलासिस समेत गरिएको अस्पतालहरुले जनाएका छन् । केही भने उपचारपछी घर फर्किसकेको अस्पताल स्रोतलाई उदृध गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिकित्सकहरूका अनुसार घरमा नै बनेको रक्सीमा मिसाइएको विभिन्न पदार्थका कारण यस्तो समस्या आएको हो । उक्त रक्सीमा मिथानोलको मात्रा बढी भेटिएको चिकित्सकहरूको भनाई छ ।
अहिले इरानमा रक्सी बिक्रिवितरणमा रोक लगाइएको छ । यस्तै, इरानी सरकारले यस्ता रक्सी बनाउनेलाई मृत्युदण्डसम्मको सजाय दिन सक्ने सम्भावना रहेको पनि बताइएको छ ।

No comments: