तराईका जिल्लामा हडताल, काठमाडौमा कमलरीको सभा
२१ जेठ, काठमाडौ । सरकारले गठन गरेको सहसचिव स्तरिय वार्ता टोलीसँग वार्ता अश्वीकार गरेको कमलरी प्रथा उन्मुलन संघर्ष समितिले आज राजधानीमा विरोधसभा सहित तराईका जिल्लामा आम हडताल आहृवान गरेको छ ।
काठमाडौको सिंहदरबार अगाडि शान्तिपूर्ण आन्दोलनमाथी भएको प्रहरी धरपकडमा विरोधमा थारू सम्बद्ध संघ-संगठनले आजदेखी तराइका २२ जिल्लामा आम-हडताल आहृवान गरेका छन् ।
थारू-कल्याणकारी संगठन लगायत संगठनले कमलरीका माग पूरा नहुँदासम्म आन्दोलन चर्काउने बताएका हुन् । सरकारले सहसचिव स्तरिय वार्ता टोली गठन गरेर आफूहरुको अपमान गरेको भन्दै उनीहरूले मन्त्रीस्तरिय वार्ता टोलीसँग मात्र वार्तामा बस्ने बताएका छन् ।
दिउँसो शान्ति बाटीकावाट विरोध जुलुस सहित अनामनगरको हनुमानस्थानमा विरोधसभा आयोजना गरिने कमलरी नेत्री शान्ता चौधरीले जानकारी दिइन् । आइतबार भएको प्रहरी धरपकडमा घाइते भएका ५ जना कमलरी अहिलेसम्म अचेत रहेका छन् । कमलरीको आन्दोलनप्रति विभिन्न संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् । जनजाती महासंघका अध्यक्ष नरेन्द्र कुमालले कमलरीको मागमा आफूहरुको ऐक्यबद्धता रहेको पत्रकार सम्मेलनमा बताए ।

No comments: