उत्तर र दक्षिण कोरिया वार्ताका लागि सहमत
ती दुवै कोरिया वार्ताका लागि सैद्धान्तिक रुपमा सहमत भएको समाचारमा जनाइएको छ । गत वर्षदेखि यी दुई देशबीच निकै ठूलो कूटनीतिक दरार उत्पन्न भएको थियो ।
बिहीबार भने ती दुवै देश औपचारिक रुपमा वार्तामा बस्न सहमत भएको समाचारमा बाहिर आएको छ । यो समाचारलाई नाटकीय रुपमा सार्वजनिक समाचार भनी टिप्पणी गरिएको पनि समाचारमा उल्लेख छ ।
बिहीबार सो वार्ताको प्रस्ताव आश्चर्यजनक रुपमा उत्तर कोरियाको तर्फबाट आएको बताइएको छ । उत्तर कोरियाले द्विपक्षीय हितका विषयमा वार्ता गर्न प्रस्ताव राखेेको बताइएको छ ।
दुवै देशका नागरिकको पुनर्मिलन, संयुक्त लगानीमा सञ्चालित औद्योगिक क्षेत्रको पुनः सञ्चालनका साथै अन्य मानवीय र आर्थिक हितका विषयमा वार्ता गर्न तयार रहेको प्रस्ताव उत्तरले गरेको बताइएको छ ।
सो प्रस्तावलाई दक्षिणले पनि सकारात्मक भनी प्रतिक्रिया दिएको छ । अधिकारीहरूले दक्षिण कोरियाले उत्तरको सो प्रस्तावको केही मिनेटमा नै समर्थन जनाएको बताएका छन् ।
उनीहरूले दुवै पक्षका कूटनीतिक अधिकारीहरूको छिट्टै बस्ने बैठकले वार्ताको मिति तय गर्ने बताएको पनि समाचारमा जनाइएको छ ।
गत महिना मात्र उत्तर कोरियाले एकतर्फी रुपमा आणविक क्षेप्यास्त्रको परीक्षण गर्नेदेखि लिएर युद्धका लागि तयार रहन भन्ने आसयको धम्की दक्षिणलाई दिएको थियो ।
उत्तरको सो व्यवहारको विश्वका नेताहरूले पनि व्यापक मात्रामा विरोध गरेका थिए । आज वार्ताको बारेमा विकसित परिस्थितिप्रति भने प्रतिक्रिया आइसकेको छैन । रासस/एपी

No comments: