सरकारले गर्ने निर्णयमा हाम्रो कुनै गुनासो हुँदैन
क्रान्तिकारी पत्रकार सङ्घ इलामले आज इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले दलहरूबीच सहमति हुन नसकेपछी सरकारलाई निर्वाचन कानुन बनाउने जिम्मा दिइएको र अब सरकारले बनाउने निर्वाचन कानुनलाई सबैले मान्नुपर्ने धारणा राखेका छन् ।
लामो समयको छलफलमा समेत दलहरूबिच थ्रेसहोल्ड लगायतका विषयमा विवाद हुँदा समस्या भइरहेको बताउँदै प्रचण्डले सरकारले जे निर्णय लिन्छ त्यो सबै राजनीतिक दलले मान्नुपर्ने बताएका छन् । उनले देश अब निर्वाचनतर्फ उन्मुख भएको बताए ।
उच्चस्तरीय राजनीतिक संयन्त्र थ्रेसहोल्ड, निर्वाचन ऐन, निर्वाचन मितिका बारेमा दलहरूबीच कुरा नमिलेकाले अब समस्या समाधानको लागि सरकारलाई नै जिम्मा दिएको प्रचण्डले बताए । उनले सरकारले गर्ने निर्णयमा आफ्नो पार्टीले कुनै गुनासो नगर्ने भन्दै राजनीतिक दलहरू बीच विवाद हुँदा निर्वाचन नै संकटमा पर्दै गएको बताए । उनले मङ्सिरमा संविधानसभाको निर्वाचन हुने दावी गरे ।
सरकारले गर्ने निर्णय सबै पार्टीले मान्ने सहमति भएकाले निर्वाचनको माहोल सृजना भएको उनको भनाई छ । अघिल्लो संविधानसभाबाट संविधान निर्माण हुनै लाग्दा नेकपा एमाले र नेपाली कांग्रेसका कारण संविधान बन्न नसकेको उनको आरोप छ । 'राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीका बारेमा दलहरूबीच सहमत नहुँदा संविधान निर्माण हुन नसकेको उनको भनाई थियो ।

No comments: