राष्ट्रपतिको हप्की खाएपछि रेग्मी चुनाव घोषणाको तयारीमा
सरकार गठन भएको तिन महिना पूरा भइसक्दा समेत निर्वाचन मिति घोषणा गर्न नसकेको भन्दै राष्ट्रपतिले सरकारको कडा आलोचना गरेका थिए । अध्यक्ष रेग्मीले भने दलहरूसँग परामर्श जारी रहेकोले केही दिनमै निर्वाचन कानून पारित गरी मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।
चुनावको मिति समेत घोषणा गर्न नसकेको भन्दै चौतर्फी आलोचनाको केन्द्र बनेको सरकारले बिहिबार बस्ने मनत्रीपरिषद बैठक मार्फत निर्वाचन कानून पारित गर्ने संभावना छ । दलहरूले सहमति जुटाउन नसकेपछि निर्वाचन कानूनको विवाद अन्त्य गर्ने जिम्मा सरकारलाई दिइएको थियो ।
समानुपातिक तर्फ थ्रेसहोल्डको व्यवस्था नराखी सरकार चुनाव मिति घोषणाको तयारीमा लागेको एक मन्त्रीले जानकारी दिए । 'निर्वाचनको मिति आजै घोषणा नभएपनि कानून पारित गरेर राष्टपति कार्यालयमा पठाउँछौ', ती मन्त्रीले भने, 'अध्यादेश स्वीकृत भए लगत्तै निर्वाचन मिति घोषणा हुनेछ ।'
राष्ट्रपति यादवले बुधवार साँझको भेटमा अविलम्ब मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । राष्ट्रपतिसँगको भेटमा रेग्मीले मंसीर २ गते निर्वाचन गराउने प्रस्ताव गरेका स्रोतले बतायो ।

No comments: