बुद्धिचाल खेलमा ‘म्याच फिक्सिङ’
३० जेठ, काठमाडौ । नेपाल बुद्धिचाल सङ्घले बुद्धिचाल (चेस) खेलमा हुने गरेको खेल मिलेमतो (म्याच फिक्सिङ) अन्त्य गर्नका लागि छानबिन आयोग नै गठन गर्नुपरे पनि पछि नहट्ने जनाएको छ ।
चेस खेलका प्रतियोगिता सङ्ख्यात्मक रुपमा वृद्धि हुनुका साथै यसप्रति सर्वसाधारणको लोकप्रियता तथा सहभागिता बढ्दै गएकाले प्रतियोगितालाई मर्यादित रुपमा सञ्चालन गर्न र खेल मिलेमतोको समस्या सधैँका लागि अन्त्य गर्न सङ्घले छानबिन आयोग गठन गर्नुपर्ने र खेललाई मर्यादित बनाउनुपर्ने चेसका अन्तर्राष्ट्रिय आर्विटर (रेफ्रि) उमेश केसीले बताउनुभयो ।
‘केही महिनाअघि ललितपुरमा आयोजना गरिएको सहकारी कप बुद्धिचाल प्रतियोगितामा खेलाडीले म्याच फिक्सिङ गरेको आशङ्का आफूहरुलाई लागेको भन्दै ‘आगामी दिनमा यस किसिमको समस्या चेसमा भित्रिन नदिन के गर्नुपर्ने हो त्यसका बारेमा बृहत छलफल गरेर समस्या समाधान गर्छौं’ राष्ट्रिय बुद्धिचाल सङ्घ नेपालका अध्यक्ष नारायणदास गमालले भन्नुभयो ।
पछिल्लो पटक गत वैशाखमा दशरथ रङ्गशालमा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ‘म्याच फिक्सिङ’ भयो भन्दै मध्यपुर युथ एसोसिएसन क्लबले एन्फाविरुद्ध आरोप लगाएको थियो । सो क्लबले निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरेको थियो ।
कुनै पनि खेलमा म्याच फिक्सिङि भित्रिनु भनेको स्वस्थ प्रतिष्प्रर्धामा ‘भाइरस’ भित्रनु हो भन्नुहुन्छ नेपाल बुद्धिचाल सङ्घका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु । उपाध्यक्ष खाइजुले भन्नुभयो, “यदि कुनै खेलाडीले त्यस्तो म्याच फिक्सिङ गरेको प्रमाण भेटिएमा कारबाही गर्नुपर्छ, तर शङ्कका भरमा म्याच फिक्सिङ भयो भन्दै हल्ला फैलाउनु राम्रो होइन ।”
चेस खेलमा भर्खर देखा परेको ‘म्याच फिक्सिङ’ यस खेलको पुरस्कार राशिमा धेरै ठूलो भिन्नता हुनु नै प्रमुख कारण रहेको अन्तर्राष्ट्रिय आर्विटर उमेश केसीको अनुमान छ । केसीले भन्नुभयो, “कुनै पनि प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने खेलाडीलाई प्रदान गरिने आर्थिक पुरस्कार राशिमा धेरै अन्तर रहेकाले खेलाडीले मिलेमतोमा खेल खेल्ने गरेको निष्कर्षमा पुगेर हामीले आगमी दिनमा सञ्चालन गर्ने प्रतियोगिताका पुरस्कार राशिमा धेरै भिन्नता नगर्ने निर्णय गरेका छौं ।”
नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरी जोशी चेस खेलाडी, पदाधिकारी, प्रशिक्षक तथा आर्विटरको सहकार्यमा खेलमा देखा परेका समस्या र विकृतिको समाधान गर्नुपर्ने बताउनुहुन्छ । रासस

No comments: