सांगाकाराले सय कटाएपछी इङ्ल्याण्डको बिजोग
जितका लागि इङल्याण्डले प्रस्तुत गरेको २ सय ९४ रनको लक्ष्य श्रीलंकाले मात्र ३ विकेट गुमाउँदै ४७ ओभर १ बलमा भेट्टाएको थियो । सांगाकाराले १ सय ३५ बलको सामना गर्दै १ सय ३४ रनको शानदार पारी खेलेका थिए भने नुवान कुलसेकराले निकै विस्फोटक ब्याटिङ गर्दै मात्र ३८ बलमा ५८ रन जोडेका थिए । यस्तै, तिलकरत्ने दिल्सनले ४४ रन र माहिला जयबर्द्धनेले ४२ रन जोडेका थिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको इङल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९३ रनको योगफल तयार गरेको थियो । इङल्यान्डका लागि जोनाथन ट्रटले ७६ रन, जोए रूटले ६८ रन, एलिस्टर कुकले ५९ रन जोडेका थिए ।
जितसंगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । न्यूजिल्याण्ड ३ अंकका साथ समूह ए को शीर्ष स्थानमा छ भने इङ्गल्याण्ड र श्रीलंकाको समान २–२ अंक छ । पुछारमा रहेको अष्ट्रेलियाको १ अंक छ ।
आजको खेलमा दक्षिण अफ्रिका र वेष्ट इण्डिज भिड्नेछन् ।

No comments: