पाहुनाले नै लुटेपछि..
२२ जेठ, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने सिङ्गा गाविसमा पाहुना बनेर बास बस्न आएका व्यक्तिहरूबाट लाखौँको धनमाल लुटपाट भएको छ ।
सिङ्गा-१ अर्जेखोलाका रूद्रबहादुर खड्काको घरमा बास बस्न आएका नचिनेका व्यक्तिहरूले नगद र गहना लुटेर लगेका हुन् । रातको समयमा बास बसेका पाहुनाले बेहोस बनाई लुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार राति १० बजे खाना खाएर सुतेका खड्काले मङ्गलबार दिउँसो व्यूझिँदा घरमा भएको नगद र गहना नभएपछि तातोपानी प्रहरी चौकीमा खबर गरेका थिए ।
मङ्गलबार साँझमात्र यो घटना सार्वजनिक भएको थियो । रूद्रबहादुर र उनकी श्रीमतीमात्र बस्ने सो घरमा बास बस्ने निहुँमा आएका तीनजनाले लुटपात गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए ।
बाह्र तोला सुनका गहना र एक लाख नगद लुटिएको पीडितले बताएका छन् । साँझ सबैजनाले खाना खाएर सुतेपछि मङ्गलबार दिउँसोमात्र होसमा आएको खड्काले बताए । उनीहरूले लठ्याउने खानेकुरा खुवाएर बेहोस बनाई लुटपाट गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
होस खुलेपछि मात्र वास बसेका व्यक्तिहरू नभएको, घरमा भएको गहना र नगद पनि हराएको थाहा पाएको पीडितले बताएका छन् । कालो वर्णका तीनजना युवा सो घरमा बास बसेका थिए ।
प्रहरी नायव उपरीक्षक मरासिनीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानसँगै घटनामा संलग्नहरूको खोजी तीव्र पारिएको प्रनाउ मरासिनीले बताए । रासस

No comments: