एक लाख ४४ हजारले पाए मेगा बैंकको सेयर, साना लगानीकर्तालाई ६.३१ र ठूलालाई ३.६७ प्रतिशत सेयर पर्यो
३० असार, काठमाडौं । मेगा बैंकले
सर्वसाधारणमा जारी गरेको ६९ करोड ९० लाखको सेयर आज बाँडफाँट गरेको छ ।
बैंकले साना लगानीकर्तालाई ६ दशमलव ३१ प्रतिशत र ठूला लगानीकर्तालाई ३
दशमलव ६७ प्रतिशतका दरले सेयर बाँडफाँड गरेको हो । बैंकको साधारण सेयरमा
माग गरिएभन्दा २२ दशमलव २५ गुणा बढी आवेदन परेको थियो । बैंकले गत जेठ १९
गते ६९ करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर निस्कासन गरेको थियो ।
बैंकले सेयर बिक्री खुला गरेको ३९ दिनमा बाँडफाँट गरेको हो ।
सेयरका लागि परेको एक लाख ६० हजार ५ सय २४
आवेदनमध्ये १ लाख ४४ हजार ४ सय ५६ जनाले मेगाको सेयर प्राप्त गरेका छन् ।
यद्यपि परिवारको नाममा भएका सेयर पछि एकीकृत गरिने हुँदा सेयरधनीको संख्या
घट्नेछ । आवेदन दिएमध्ये २ सय २८ जनाको एक लाख २० हजार ४ सय ३७ कित्ता सेयर
आवेदन रद्द भएको छ । बैंकले साधारण सेयरमध्ये ५ प्रतिशत कर्मचारी र ५
प्रतिशत म्युचुअल फण्डलाई छुट्टाई जारी गरेको ६२ करोड ९१ लाखको सेयरमा २२
अर्ब रुपैयाँको आवेदन परेको थियो ।
साना लगानीकर्ताको अत्यधिक आवेदन परेपछि
बैंकले चिठ्ठामार्फत छनोट गर्दा सबै आवेदकले सेयर पाएका छैनन् । बैंकका
अनुसार ५० कित्ता शेयरका लागि ११ हजार ३ सय ३६ जनाले आवेदन दिएकोमा
चिठ्ठामार्फत ३ हजार ४ सय ७४ जनाले सेयर प्राप्त गरेका छन् । एक सय ५०
कित्ता सेयरका लागि ३ हजार ५ सय ९ जनाले आवेदन दिएकोमा जम्मा ३ हजार २ सय
२५ जनाले मात्र सेयर प्राप्त गरेका छन् । धितोपत्र बोर्डको नियमअनुसार १५०
कित्ताभन्दा कम आवेदन गर्नेलाई ४० प्रतिशत सेयर बाँडफाँट गर्नुपर्छ ।
त्यसमध्ये सबै आवेदकलाई सेयर बाँडफाँट गर्दा १० कित्ताभन्दा कम पर्ने भएपछि
चिठ्ठामार्फत कम्तीमा १० कित्ता पाउने गरी सेयर बाँडफाँट गरिएको थियो ।
१५० कित्ताभन्दा कम आवेदन गर्ने सबैलाई १० कित्ताको दरले सेयर दिइएको छ ।
ठूला लगानीकर्ता सबैले आवेदनको अनुपातअनुसार सेयर प्राप्त गरेका छन् ।
सबैभन्दा बढी २ लाख कित्तामाथि आवेदन गर्नेले ७ हजार ३ सय कित्ता सेयर
पाएका छन् । त्यस्तै, एक लाख आवेदन गर्नेले ३ हजार ६ सय ५३ कित्ता र ५०
हजारको आवेदन गर्नेले १ हजार ८ सय २५ कित्ता सेयर पाएका छन् । यसैगरी
विभिन्न रेञ्जमा सेयर बाँडफाँट गरिएको छ ।
मेगा बैंकमा परेको अधिक आवेदनले आफ्नो
बैंकमाथि जनताको असाधारण विश्वासलाई दर्शाएको अध्यक्ष डा. मदन दाहालले
बताउनुभयो । ‘सफलतापूर्वक साधारण सेयर बिक्री गरेपछि बैंकले एउटा अध्याय
पूरा गरेको छ’, उहाँले भन्नुभयो, ‘अब हाम्रो ध्यान बैंकको सुदृढीकरण र
विस्तारमा केन्दि्रत रहनेछ ।’
१२ सय १९ जना प्रमोटर रहेको बैंकको चुक्ता
पुँजी साधारण सेयरपछि २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । स्थापनाको तीन
वर्षमा बैंकले १२ अर्ब निक्षेप संकलन गरी ११.५ अर्ब कर्जा प्रवाह गरेको छ ।
२८ वटा शाखा र ४५ स्थानमा शाखारहित सेवा दिएको यस बैंकले शाखा संख्या ५०
पुर्याउने योजना बनाएको छ ।
मेगामा परेको आवेदनले नेपालमा कनै पनि
परियोजना सञ्चालनको लागि पुँजीको समस्या नपर्ने स्पष्ट भएको कार्यकारी
प्रमुख अनिल केशरी शाहले बताउनुभयो । ‘नेपालमा कमी पुँजीको होइन विश्वासको
हो भन्ने हामीले पुष्टि गरेका छौं’, उहाँको भनाइ थियो, ‘जनताको विश्वास भए
जति ठूलो परियोजनामा पनि पुँजी सजिलै जुटाउन सकिन्छ ।

No comments: