Breaking News

वैद्यजस्तै बन्दैछन् सुशील कोइराला

susil-with-kiran३० असार, काठमाडौं । शनिबार अमेरिकाबाट फर्किनुभएका नेपाली कांग्रेसका सभापति सुशील कोइराला र यसैसाता चीनबाट फर्किनुभएका माओवादी अध्यक्ष मोहन वैद्यको स्वाभाव मिल्न थालेको छ । एकजना अतिवाम र अर्का अति दक्षिणपन्थी दिशाका सिद्धान्तनिष्ट नेता मानिनुहुन्छ वैद्य र कोइराला । मुलुकमा गोलमेच सम्मेलन नगरे चुनावै गर्न नदिने वैद्यको अडान छ भने अमेरिकाबाट फर्केकै दिन कोइरालाले डाँटिसक्नुभएको छ, ‘केको गोलमेच ? चुप लागेर चुनावमा जानुपर्छ, गोलमेच सम्मेलन हुँदैन ।’
वैद्य र कोइराला दुबै त्यागी नेता हुनुहुन्छ । व्यक्तिगत घरबारसमेत त्यागेर सन्तजस्तै भई राजनीतिमा लाग्नुभएका सुशील कोइरालाको निष्ठाप्रति कसैले प्रश्न उठाउने ठाउँ छैन । पछिल्लो समय उहाँले भागमा आउन लागेको प्रधानमन्त्रीको पद पनि त्याग गर्नुभयो । उता मोहन वैद्यले पनि संविधानसभा सदस्य पद नै त्यागिदिनुभयो । यद्यपि कोइराला प्रधानमन्त्री बन्न नसकेकोमा ग्लानीमा हुनुहुन्छ । वैद्यले पनि संसदीय दलको नेता नबनाइएकोमा सभासदबाट राजीनामा दिएको आरोप लाग्ने गरेको छ ।
मोहन वैद्य शास्त्रीय माक्र्सवादी हुनुहुन्छ । उहाँको सोचाइ आफुले जीवनभर पढेको माक्र्स, लेनिन र माओका साहित्यहरुबाट निर्देशित हुँदै आएको छ । यसअर्थमा वैद्य सच्चा माक्र्सवादी लेनिनवादी हुनुहुन्छ भन्न्े गरिन्छ । यता सुशील कोइराला पनि कम्ता सिद्धान्तनिष्ठ हुनुहुन्न । आफूले भाषण गरेपिच्छे कोइराला भन्नुहुन्छ- ‘नेपाली कांग्रेसले प्रजातन्त्रको मूल्य मान्यतामा कसैसित सम्झौता गर्दैन ।’
संक्रमणकाल लम्बिनुमा कोइराला र वैद्य दुबैको भूमिका
कतिपय मानिसहरु भन्छन्, अहिलेको संक्रमणकाल लम्बिनु र चुनावी प्रक्रिया सहजरुपमा अघि नबढ्नुमा माओवादी र विशेष गरी वैद्य नेतृत्वको उग्र वामपन्थी समूह जिम्मेवार रहेको देखिए पनि अहिलेको संक्रमणकाल जटिल बन्नुमा वैद्यको मात्रै भूमिका छ भन्दा कोइरालाको भूमिकालाई अवमूल्यन गरेको ठहरिन सक्छ । कांग्रेस सभापति सुशील कोइरालाको जडताले पनि अहिलेको परिस्थिति सिर्जना हुनमा निर्णायक भूमिका खेलेको छ । यसका केही दृष्टान्त :
पहिलो, बाबुराम भट्टराई नेतृत्वको सरकारले जतिबेला संविधानसभाको म्याद थप्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गरायो, कहिल्यै पत्रकार सम्मेलन नगर्ने कोइरालाले त्यसै दिन बेलुका निवासमा पत्रकार सम्मेलन गरेर सिटौलाले दर्ता गरेको संसदको म्याद बढाउने प्रस्ताव खारेज गरिदिनुभयो । सर्वोच्च फैसला गरिसकेको हुनाले संसदको म्याद थप्न हुन्न भन्ने जड बुझाइका कारण कोइरालाले राजनीतिको कोर्स नै बदलिदिनुभयो । त्यसबेला कोइरालाले आफ्नै महामन्त्री सिटौलाद्वारा गरिएको संविधानसभाको म्याद थप्ने प्रस्तावको विरोध नगरेको भए यस्तो संवैधानिक रिक्तता आउने थिएन ।
दोस्रो, केही समयका लागि संविधानसभाको पुनस्थापना हुनुपर्छ भन्ने प्रस्तावमा कांग्रेसका रामचन्द्र पौडेल, शेरबहादुर देउवा र बहुमत सदस्यहरु सहमत थिए । तर, कोइरालाले पुनस्थापनाबारे पार्टीमा बोल्न प्रतिबन्ध लगाउनुभयो । म्याद थप्ने कुराको विरोध गरिसकेपछि केही महिनाका लागि संविधानसभा पुनस्थापना गरेर संविधान बनाउने दिशामा भए कर्मचारीको सरकार बनाउनुपर्ने थिएन ।
तेस्रो, संविधानसभा विघटनपश्चात पुनस्थापनाको नारालाई बञ्देज गरिसकेपछि बाबुराम भट्राईकै नेतृत्वमा गृहमन्त्रालय लिएर चुनावमा जाने प्रस्ताव कांगेस नेतृ सुजाता कोइरालाले अघि सारेकी थिएन् । तर, कांग्रेस सभापति कोइरालाले यो कुरालाई ठाडै अस्वीकार गर्दै बाबुरामलाई राणाकालसँग तुलना गर्दै आन्दोलनको बाटो रोज्ने काम गरेपछि कर्मचारीको नेतृत्वमा सरकार बन्ने वातावरण सिर्जना भयो ।
रेग्मीको नेतृत्वमा सरकार बनाउने गृहकार्यले पनि लामो समय लियो । रेग्मी सरकार प्रमुख भैसकेपछि उनलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने कि नगराउने भन्नेमा पनि कोइरालाभित्र निकै ठूलो अलमल देखियो ।
पछिल्लो समयमा वैद्यलाई चुनावमा ल्याउनका लागि गोलमेच सम्मेलन गर्ने चर्चा चलिरहेको छ र सरकार लगायत चार दलसमेत गोलमेचबारे सकारात्मक भएका छन् । तर, यो लचकदार रणनीतिलाई ठाडै अस्वीकार गर्दै कोइरालाले ‘केको गोलमेच ?’ भन्दै यसलाई ठाडै अस्वीकार गर्नुभएको छ । तर, अमेरिका बसाइका कारण पछिल्लो घटनास्थितिबारे अपडेट नभएकाले मात्रै कोइरालाले गोलमेचको विरोध गर्नुभएको हो या साँच्चै उहाँ मोहन वैद्यजस्तै आफ्नो सिद्धान्तप्रति प्रतिवद्ध देखिनुभएको हो ? यो विषय स्पष्ट भैसकेको छैन । तर, गोलमेच नभएसम्म चुनाव बिथोल्ने बैद्यको अडान र गोलमेच-सोलमेच कुनै हालतमा गरिन्न भन्ने सुशीलको अडान यथावत रह्यो भने यी दुई वृद्धहरुको संयुक्त जडताको कोपभाजनमा मुलुक नपर्ला भन्न सकिँदैन ।
देउवा भन्दा कोइराला नजिक ?
यसैवीच हालै पोखरामा सम्पन्न माओवादी वैठकमा मोहन वैद्य किरणले शेरबहादुर देउवाभन्दा सुशील कोइरालाई ‘राष्ट्रवादी’ कित्ताको भन्दै देउवाको तुलनामा सही नेता बताएको बझिएको छ । तर, उनीहरुले उठाएको गोलमेचको मागमा देउवा सकारात्मक देखिए पनि कोइरालाले अस्वीकार गर्नुले वैद्य माओवादीको विश्लेषणलाई गलत सावित गर्दैन र ? के आधारमा वैद्यको नजरमा सुशील कोइराला देउवाभन्दा नजिक देखिएका हुन् ? उमेरको निकटता, उस्तै उस्तै लाग्ने सकल, भारतले उनीहरुप्रति देखाउने अरुची अनि सिद्धान्तलाई जडतामा बुझ्ने बाहेक कुन-कुन कुरामा निकटता छ वैद्य र देउवामा ? एकजना ‘प्रजातन्त्र’ (पुरानो संसदीय मोडेलको प्रजातन्त्र) मा कसैसित सम्झौता नगर्ने, अर्कोचाहिँ ‘जनवाद’मा कसैसित सम्झौता नगर्ने ।

How about this Article

No comments:

Leave a Reply