Breaking News

बेनी–जोमसोम सडकमा यात्रुहरु तोकिएको भन्दा दोब्बर भाडा तिर्न बाध्य !

सन्तोष गौतम, म्याग्दी २०७० साउन 28 । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरुले तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भएका छन् ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि सवारी साधन परिवर्तन गरेर यात्रा गर्दा असुबिधाका साथै महँगो भाडा तिर्नुपर्ने हुँदा यात्रुहरु दोहोरो मारमा परेका हुन् । ३९ किलोमिटर दुरीको बेनी–घाँसा सडक खण्डमा म्याग्दी जिप तथा बस व्यवसायी समितिले पछिल्लो समय ३ सय ९० रुपैया प्रतियात्रु भाडा निर्धारण गरेको छ ।
केही दिनयता व्यवसायी आफैले निर्धारण गरेको भन्दा २ सय रुपैया भन्दा बढी भाडा लिएको यात्रुहरुले बताएका छन् । बेनी देखि घाँसा सम्म छ वटा सवारी साधन परिवर्तन गरेर यात्रा गर्दा प्रतिव्यक्ति ६ सय रुपैया सम्म भाडा तिर्नुपरेको यात्रुको गुनासो छ । सडकमा सिधा सवारी साधन सञ्चालन नहुँदा अनुगमनको अभावमा बिच बिचमा चल्ने सवारी साधनले आफूखुसी भाडा लिने गरेकाले यात्रुहरु मर्कामा परेका हुन् ।
म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङका बासिन्दा तथा मुक्तिनाथ जाने तिर्थयात्री र मुस्ताङ घुम्न जाने तथा त्यहाँबाट फर्कीएका पर्यटकहरुले सम्बन्धित निकायले अनुगमन नगर्दा बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन् । घुमाउने ताल, चमेरे, बैशरी, भिरकाटे, जलथले र रुप्सेमा पहिरोका कारण बेनी–जोमसोम सडकको बेनी घाँसा खण्ड अवरुद्ध भएको छ ।
म्याग्दी जिप तथा बस व्यवसायी समितिका उपाध्यक्ष मोहन केसीले गाडी छुटाउन कम्तीमा २० जना यात्रु आवश्यक पर्ने भएकाले सो भन्दा कम संख्यामा यात्रु भएको अवस्थामा ट्याक्सी र गाडी रिजर्भ गर्दा यात्रुले भाडा बढी तिरेको हुन सक्ने बताए । “गाडी भरिन सयम लाग्ने भएकाले यात्रुले छिटो पुग्न गाडीको कोटा पुराउन आफै बढी भाडा तिरेका हुन” उनले भने “व्यवसायीले आफखुसी भाडा लिएको पाएमा कारबाही हुन्छ ।”
सरकारी निकायबाट अवरुद्ध सडक खुलाउन पर्याप्त पहल नभएको भन्दै उनले जोखिमयुक्त सडक व्यवसायी आफैले लगानी गरेर मर्मत गर्नुपरेको गुनासो गरे । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर पल्लीमगरले सडकमा सिण्डीकेटका कारण यात्रुले दुख पाएको गुनासो सुनिएपनि बढी भाडा तिरेको विषयमा जानकारी नभएको बताए ।
ठगिनबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने भन्दै प्रनाउ पल्लीमगरले सडक क्षेत्रमा पर्ने प्रहरी ईकाई मार्फत पनि सतर्कता अपनाइएको जानकारी दिँदै उनले समस्या समाधानका लागि अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले प्राथमिकता दिन आवश्यक रहेको बताए । धेरै ठाउँमा सडक अवरुद्ध भएकाले एक ठाउँदेखि अर्को स्थानको दुरी पहिचान गर्न पनि नसकिँदा भाडादरको समस्या उत्पन्न भएको प्रनाउ मगरले बताए ।

How about this Article

No comments:

Leave a Reply