केइटा बने मालीको राष्ट्रपति
३१ साउन, बामाको । मालीमा पूर्व प्रधानमन्त्री इब्राहिम बुबाकर केइटा राष्ट्रपति पदको निर्वाचनमा विजयी भएको घोषणा गरिएको छ । उनले द्धन्द प्रभावित यस मुलुकमा अत्यधिक मत प्राप्त गरेको बताइएको छ ।
आइतबार भएको दोस्रो चरणको मतदानमा केइटाले ७७.६ प्रतिशत मत प्राप्त गरेका र उनका प्रतिद्वन्द्वी सुमाइला सिसेले २२.४ प्रतिशत मत प्राप्त गरेको देखिएको छ ।
मालीमा सन् २००७ पछि भएको निर्वाचन यस मुलुकलाई अन्तर्राष्ट्रिय समुदायले दिने भनिएका चार अर्ब अमेरिकी डलरभन्दा बढी रकम प्राप्त गर्न निकै महत्वपूर्ण रहेको छ ।
यस मुलुकमा पृथकतावादी विद्रोहका कारण सन् २०१२ मा शासन पतन भएको थियो र यस मुलुकलाई दिइएको सहयोग बन्द भएको थियो ।
केइटाले विजय हासिल गरेको पूर्व अर्थमन्त्री सिसेले स्वीकार गरिसकेका छन् ।
यस निर्वाचनमा ४५.८ प्रतिशत मतदाताले भाग लिएको जानकारी गृहमन्त्री मुसा सिन्को काउलिबालीले बताए । निर्वाचनमा बदर मत ९३ हजार रहेका छन् । पहिलो चरणको मतदानमा चार लाख मत बदर भएका थिए ।
अठसट्ठी वर्षीय केइटाले कहिल्यै सम्झौता गरेका छैनन् । एएफपी

No comments: