Breaking News

२ हजार ३ सय बढि अपांगता परिचय पत्र वितरण

  सन्दीप खत्री म्याग्दी २४ साउन
महिला तथा बालबालिका कार्यालय म्याग्दीले जिल्लामा अहिले सम्म २ हजार भन्दा धेरै अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरेको छ । वि.स. २०६६ जेठ महिना देखी अपांगता परिचय पत्र वितरण सुरु गरेको कार्यालयले अहिले सम्म २ हजार ३ सय ८३ जनालाई अपांगता परिचय पत्र वितरण गरेको कार्यालयका महिला कार्यकर्ता कृष्णा अर्यालले जानकारी दिईन् ।
उनका अनुसार सवैभन्दा धेरै अपांगता परिचय पत्र आर्थिक बर्ष २०६९÷०७० मा ८ सय ३५ वटा जारी भएको छ । ०६९÷०७० मा जिल्लामा विभिन्न समयमा भएको घुम्ती शिविर मार्फत घरदैलौमा पुगेर अपांगता परिचय पत्र वितरण गरेकाले धेरै अपांगता भएका व्यक्तिहरुले परिचय पत्र पाउन सफल भएको महिला विकास अधिकृत निर्मला शर्माले बताईन् ।
कार्यालयबाट जारी भएका अपांगता परिचय पत्र मध्ये अहिले सम्म १ सय ५४ जनाले ‘क’ बर्ग, ८ सय ३ जनाले ‘ख’ बर्ग, ६ सय ८८ जनाले ‘ग’ बर्ग र ७ सय ४४ जनाले ‘घ’ बर्गको परिचय पत्र पाएको महिला कार्यकर्ता अर्यालले बताईन् । त्यसैगरि अपांगता भएका बालबालिकाहरु मध्ये अहिले सम्म विभिन्न अपांगता भएका ४ सय ७० जनाले परिचय पत्र पाप्त गरेका छन् । १८ बर्ष मुनीका १ सय ९५ जना बालक र २ सय ७५ जना बालिकाले परिचय पत्र लिएको अर्यालले जानकारी दिईन् ।
अघिल्लो बर्षमा मात्रै १ सय ३३ जना अपांगता भएका बालबालिकाहरुले परिचय पत्र पाएका हुन् । जिल्लामा परिचय पत्र वितरण सुरु भएको पहिलो बर्ष २०६६ सालमा १ सय ४३ जना, २०६७ मा ३ सय ५५ जना, २०६८ मा ५ सय ५ जना र २०६९ मा ५ सय ४५ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।
यसैविच म्याग्दीमा अझै पनी सवै अपांगता भएका व्यक्तिहरुले परिचय पत्र पाउन सकेका छैनन् । राज्यबाट पाउने सेवा सुविधा लिनका लागी परिचय पत्र हुनुपर्ने प्रावधान भएपनी सवै अपांगता भएका बालबालिकाको पहुँच सम्म परिचय पत्र पुग्न नसक्दा उनीहरु राज्यको सेवा सुविधा पाउनबाट समेत बन्चित बनिरहेका छन् ।
जिल्ला शिक्षा कार्यालय म्याग्दीका अनुसार अहिले सम्म जिल्लामा विद्यालय उमेर समुहका ७ सय ७० जना अपांगता भएका बालबालिकाहरुको पहिचान भएको छ तर अहिले सम्म ४ सय ७० जना अपांगता भएका बालबालिकाहरुले मात्रै परिचय पत्र पाएको महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा अपांगता परिचय पत्र वितरण गर्दै आएको महिला तथा बालबालिका कार्यालयले अहिले ग्रामीण भेगमा रहेका अपांगता भएका व्यक्तिहरु राज्यको सेवा सुविधाबाट बन्चित नहुन भन्ने उदेश्यले अपांगता परिचय पत्र वितरणलाई तिब्र बनाएका जनाएको छ ।
यसैविच अपांगता भएका व्यक्तिहरुको हक, हित र अधिकार स्थापित गर्ने उदेश्यले अपांगता भएका व्यक्तिहरुलाई एकजुट गराउने उदेश्यले अपांग संघ म्याग्दीले जिल्लाका प्रत्येक गाविसमा गाउँ अपांगता संजाल गठनलाई तिब्र बनाएको छ । अहिले सम्म ३० भन्दा गाविसमा संजाल गठन गरिसकेको संघकी सामाजीक परिचालक उर्मिला रेग्मीले जानकारी दिईन् । संजाल गठन भएपछी गाउँ गाउँमा रहेका अपांगता भएका व्यक्तिहरु एकजुट हुने र सरकारी निकाय, गाविस तथा विभिन्न कार्यालयबाट प्राप्त गर्ने सेवा सुविधा प्रति अपांगता भएका व्यक्तिहरुको पहुँच बढ्दै गएको सामाजीक परिचालक रेग्मीले बताईन् ।

How about this Article

No comments:

Leave a Reply