यूवासंघका ‘डन’हरुलाई कारवाही गर्ने खनालको चेतावनी
३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले युवा संघ नेपालमा रहेका ‘डन’हरुलाई कारवाही गर्ने चेतावनी दिनु भएको छ ।
भातृ संगठनहरु पार्टीको कार्यदिशा अनुसार
चल्नु पर्ने भन्दै उहाँले गुण्डागर्दी, अनुशासनहित र अराजकहरुलाई कारवाही
गर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’भातृ संगठनहरु एमालेको कार्यदिशा
अनुसार चल्नुपर्छ । युवा संघभित्र देखिएको गुण्डागर्दी र अराजकता विरुद्ध
पार्टी एक हुन्छ र युवा संघलाई एक बनाईन्छ ।’
रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र
बुझ्दै एमाले अध्यक्ष खनालले सरकार परिवर्तन र मंसिर ४ गतेको लागि घोषित
संविधानसभाको निर्वाचनको मिति सार्ने विषयमा अब कसैसँग पनि वार्ता हुन
नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो-’सरकार परिवर्तन र निर्वाचनको मिति
परिवर्तनको विषयमा सम्झौता हुनै सक्दैन । त्यस बाहेकका विषयमा भने सहमतिको
प्रयास हुनसक्छ ।’
भदौ अन्तिम वार्ता अन्तिम भन्दै उहाँले
असोजदेखि उम्मेदवार तय गरेर अघि बढ्नु पर्ने भएकोले भदौ भन्दापछि केही सँग
पनि बार्ता नहुने दावी गर्नुभयो । निर्वाचनबाट मात्रै मुलुकले निकास पाउने
भएकोले अब मंसिर ४ गतेकोलागि तोकिएको समय कुनै पनि हालतमा तलमाथि हुन
नसक्ने उहाँको भनाई छ ।
एमालेभित्रकै नेताहरुले चुनाव चैतमा सर्ने
भनि दिएको अभिब्यक्ति सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा खनालले
भन्नुभयो-’चुनाव मंसिर ४ मा एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ । चुनाव सर्छ
भनेर खयाली पुलाउ पकाएर कसैले अब नखाए हुन्छ ।’

No comments: