Breaking News

अमेरिकी राष्ट्रपति ओबामाले सिरियामाथि आक्रमण गर्ने आदेश दिन बाँकी

वासिङटन, १३ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार आफूले सिरियामाथि आक्रमण गर्ने आदेश दिइ नसकेको बताउनुभएको छ तर वासिङ्टनले संयुक्त राष्ट्र सङ्को निर्णय नपर्खने भएकाले आक्रमण हुने सम्भावना बढेको छ ।
लन्डनमा राजनीतिक छलफलले सिरियाली राष्ट्रपति बसार अल–असादको शासनले आफ्ना जनतामाथि रासायनिक हतियार प्रयोग गरेको विषयमा अमेरिकाले आउँदो साता सैनिक कारवाही गरेमा बेलायतको साथ प्राप्त हुने हो होइन भन्ने कुरामा आशङ्का जन्माएको छ ।
यसबीच संयुक्त राष्ट्र सङ्घको समूह दमासकसमा विषाक्त ग्यासबाट प्रभावितको परीक्षण गर्ने कार्यमा अगाडि बढेका छन् । गत साता भएको भनिएको उक्त आक्रमणमा सयौँ व्यक्तिको मृत्यु भएको थियो भने यसैले पश्चिमी मुलुकलाई यस युद्धमा तान्ने अवस्था सिर्जना भएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियारको प्रयोगले ‘रेड लाइन’ तोड्ने चेतावनी दिनुएको थियो । वासिङटन सिरियाली राष्ट्रपति असादको सरकारले रासायनिक हतियार प्रयोग गरेको टुङ्गोमा पुगेको छ ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले प्रशासनले बिहीबार अमेरिकी वरिष्ठ सांसदहरूलाई रासायनिक हतियार प्रयोग भएको विषयमा गुप्तचरका गोप्य प्रतिवेदनका विषयमा जानकारी दिइने बताएका छन् ।
पीबीएस न्युजआवरमा राष्ट्रपति ओबामालाई उहाँ सैनिक आक्रमणको कति नजिक पुग्नुभयो भनी सोधिएको प्रश्नमा आफूले निर्णय गरिनसकेको बताउनुभयो । अमेरिकाले सिरियामाथि क्रुज क्षेप्यस्त्र प्रयोग गर्ने अनुमान गरिएको छ ।
उहाँले अमेरिकी कारवाहीले सिरियालाई यस प्रकारको हतियार पुनः प्रयोग नगरे राम्रो हुन्छ भन्ने सन्देश दिने बताउनुभयो ।
उहाँले ह्वाइट हाउसले गर्ने सीमित आक्रमणले सिरियामा नागरिक हत्याको चरण नरोकिने तथा हालसम्म एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको यस गृहयुद्धमा संलग्नु हुने निर्णयले परिस्थितिलाई राम्रो नबनाउने उल्लेख गर्नुभयो ।
राष्ट्रपति ओबामा विदेशी युद्ध अन्त्य गरी नयाँ युद्धमा प्रवेश नगर्ने चाहनामा हुनुहुन्थ्यो भने उहाँले सिरियालाई मात्र नभई बाँकी विश्वलाई पनि यस विषयमा स्पष्ट सन्देश दिनुपर्ने बताउनुभयो ।
उहाँले रासायनिक हतियार जस्ता अमेरिकालाई नै पनि चेतावनी दिनसक्ने हतियार प्रयोग गर्दा उनीहरूलाई जिम्मेवार बनाइने छ भन्ने कुराको अन्तर्राष्टिय मान्यतालाई सुनिश्चित गर्न चाहेको पनि उल्लेख गर्नुभयो ।
यस अघि वासिङ्टनले बेलायतले सिरियाको विषयमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा राख्न चाहेको सिरियामाथि कारवाहीको प्रस्ताव पारित भएमा कानुनी आधार प्राप्त हुने तर रसियाको विरोधका कारण अव त्यो सम्भव नभएको बताएको थियो । उक्त जानकारी अमेरिकी सहायक विदेशमन्त्री म्यारी हार्फले दिनुभएको हो ।
बेलायतमा प्रधानमन्त्री डेविड क्यामरुनले संयुक्त राष्ट्र सङ्घले प्रतिवेदन प्रकाशन नगरेसम्म अफूले सैनिक कारवाहीको आदेश नदिने बताउनुभएको छ । उहाँले संसदमा यस विषयमा देखिएको विरोधपछि यस्तो कुरा बताउनुभएको हो ।
यसबीच सिरियाका छिमेकीहरू आक्रमण हुने देखेपछि सुरक्षाको तयारी गरिरहेका छन् ।
इजरायलले जगेडामा रहेका सैनिकलाई आंशिक रूपमा फिर्ता बोलाउने अधिकार दिएको छ । टर्कीले सेना उच्च सतर्क अवस्थामा रहेको बताएको छ । न्यु योर्कमा तेलको मूल्य गत दुई वर्षमा सबैभन्दा उच्च स्तरमा पुगेको छ ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यो क्षेत्र हाल विस्फोटक पदार्थको भण्डार जस्तो भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको निरीक्षण समूहले उनीहरूलाई आफ्नो काम सम्पन्न गर्न दुई दिन लाग्ने बताएका छन् । निरीक्षकहरू बुधबार दमासकको घौटा जिल्लामा अगस्त २१ मा भएको आक्रमणबाट पीडित व्यक्तिहरूको रगत, पिसाप तथा कपालको नमुना लिन त्यहाँ पुगेका छन् ।
रासायनिक हतियार प्रयोग गर्नु अन्तर्राष्ट्रिय महासन्धि विपरीत मानिन्छ र अमेरिका, बेलायत तथा फ्रान्सले राष्ट्रपति असादको सेनाले यसो गरेको आरोप लगाएका छन् ।
सिरियाली सरकारले भने यस्तो कार्य आतङ्कवादी विद्रोहीले गरेको आरोप लगाएको छ । संयुक्त राष्ट्र सङ्घका लागि सिरियाली दूत बसार जफारीले बुधबार सिरियाली सेनामाथि दमासकसमा गत साता तीन पटक यस्तो ग्यासको आक्रमण भएको दाबी गर्नुभयो ।
यस अघि संयुक्त राष्ट्र सङ्घमा सिरियाको पक्षमा निषेधाधिकार प्रयोग गरेको रसियाले सिरियाली सरकारको पक्षमा आफ्नो समर्थन कायम राखेको छ । तर उसले सिरियाली नगर लाताकियाबाट आफ्ना १०० नागरिकलाई उद्धार गरेको छ ।
रसियाली विदेशमन्त्री सेर्गेइ लभ्रोभले संयुक्त राष्ट्र सङ्घको अनुसन्धान सम्पन्न नभएसम्म कुर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएका छ ।
उहाँले सिरियामाथि पश्चिमी सैनिक आक्रमणले मध्यपूर्वलाइ नै अस्थिर बनाउने बताउनुभयो ।
सिरियाली प्रधानमन्त्री वाएल अल–हल्कीले पश्चिमले सिरियामा हस्तक्षेप गर्ने अवसर खोजिरहेको बताउँदै आफ्नो मुलुक आक्रमणकारीको चिहान बन्ने चेतावनी दिनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले अन्तर्राष्ट्रिय शक्तिलाई द्वन्द्वबाट हट्न आग्रह गर्नुएको छ ।
सिरियामा २०११ को मार्चमा आरम्भ भएको यस द्वन्द्वमा हालसम्म एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी संयुक्त राष्ट्र सङ्घले दिएको छ ।
सिरियाको प्रमुख प्रतिपक्षी समूहले पश्चिमी मुलुकले असादको सरकारमाथि आक्रमण गर्ने मात्र नभई उहाँलाई पदमुक्त गरी अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा चलाउन आग्रह गरेको छ । चीनले भने पश्चिमी मुलुकलाई सिरियामाथि आक्रमण नगर्न आग्रह गरेको छ । एएफपी

How about this Article

No comments:

Leave a Reply