Breaking News

राखेपको स्वर्ण महोत्सव सुरु

१३ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आजदेखि स्वर्ण महोत्सव सुरु भएको छ ।
विसं २०२० आजैको दिन स्थापित राखेपले आफ्नो ५०औं वार्षिकोत्सवका अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न खेलकुद प्रतियोगिता, सरसफाइ, रक्तदान, दीपावली तथा मेधावी कर्मचारी पुरस्कारलगायत कार्यक्रम तय गरेको छ ।
प्रभातफेरीबाट सुरु भएको स्वर्ण महोत्सवको आज यहाँ युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्दै खेलकुद क्षेत्रको अझ विकास गर्नका लागि नेपाल ओलम्पिक कमिटीको विवाद समाधान गर्नुपर्नेमा जोड नुभयो । मन्त्री श्रेष्ठले नेपालमा हाल राष्ट्रिय मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरी दुई ओलम्पिक कमिटी विद्यमान भई अन्तर्राष्ट्रियस्तरमा नेपाली खेल क्षेत्रप्रति नकारात्मक दृष्टि परेकाले समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ भन्नुभयो ।
हाल नेपालमा रुक्मशम्शेर राणा नेतृत्वको राष्ट्रिय मान्यताप्रप्त र ध्रुवबहादुर प्रधान नेतृत्वको अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी अस्तित्वमा छन् । राणा नेतृत्वको कमिटीले सर्वोच्च अदालतबाट राष्ट्रिय मान्यता प्राप्त गरेको भए तापनि प्रधान नेतृत्वको कमिटीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको भन्दै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि समन्वयकर्ताको काम गर्दैआएको छ ।
मन्त्री श्रेष्ठ, राखेप पदाधिकारी, कर्मचारी तथा खेलाडीसम्मिलित प्रभातफेरी त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्बाट सुरु भई सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, सहिदढोका हुँदै पुनः त्रिपुरेश्वर पुगेर अन्त्य भएको थियो । राखेप कर्मचारी सङ्घका उपमहासचिव कुमार बस्नेतका अनुसार महोत्सव पाँच वटै विकास क्षेत्र र ७५ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाइने छ ।

How about this Article

No comments:

Leave a Reply