Breaking News

उषा पौडेलको हिन्दीतिरको यात्रा

usha-poudelकुनै बेला नायिका उषा अर्थात् रुक्मणी पौडेलले आफूलाई अभिनेत्री मनीषा कोइरालासँग तुलना गर्थिन्, जतिखेर मनीषाको बलिउडमा ‘हाईहाई’ थियो । तर, यता उषा भने भर्खरै नेपाली चलचित्रमा करिअर खोज्दै थिइन् । त्यतिखेरै उषा भन्ने गर्थिन्, ‘म मनीषाजस्तै ठ्याक्कै देखिन्छु रे !’ त्यो उनको एउटा बलिउड सपना थियो ।
उषा मात्र होइन, मनीषाको सफलता देखेर अधिकांश नेपाली चलचित्रका हिरोइनले बलिउड सपना बुनेँ । पूर्वमिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्यले त केही समय संघर्ष नै गरिन्, बलिउडमा । झरनाले ‘लभ इन नेपाल’ नामक बलिउड चलचित्रमा अभिनय गर्ने अवसर
पनि पाइन् ।
तर, चलचित्रको असफलसँगै झरनाको बलिउड सपना तुहियो । उषाले भने बलिउडको सपना बुन्न छाडिनन् । यिनै उषा अब चाँडै एक हिन्दी चलचित्रमा देखिने भएकी छन् । तर, बलिउडमा उषा होइन, रुक्मीका रूपमा देखिने भएकी छन् । उनलाई मुम्बईमा रुक्मीकै रूपमा चिन्ने गरेको छन् । रुक्मी उषाको वास्तविक नाम रुक्मणीको सर्टकर्ट हो ।
उषा ओस्कार विजेता चलचित्र ‘स्लमडग मिलेनियर’ का अभिनेता अंकुर विकलसँग चलचित्र ‘सुन लड्की’ मा देखिन लागेकी हुन् । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार उषा ‘सुन लड्की’ मा सहअभिनेत्रीका रूपमा देखिँदै छिन् । उक्त चलचित्रमा अन्य कलाकारसमेत नयाँ छन् ।
महाकवि लक्ष्मी देवकोटाको चर्चित कृति ‘मुनामदन’माथि निर्माण गरिएको ‘मुनामदन’ मा मुनाको भूमिका गरेर नेपाली रजतपटमा प्रवेश गरेकी उषाले सोचेजस्तो करिअर अगाडि बढाउन सकिनन् ।
करिब तीन दर्जनको हाराहारी नेपाली चलचित्रमा अभिनय गरेर पनि करिअर नदेखेकी उषा बलिउड जाने दाउ खोजिरहेकै बेला करिब चार वर्षअघि ‘आषिकी’ हिरो राहुल रोयसँग पछि लागेर मुम्बई पुगेकी हुन् ।
मुम्बईमा संघर्ष गर्ने क्रममा उनले थुप्रै अडिसन दिएको यसअघि खुलाइसकेकी छन् । तर, उषाले अडिसन दिन छाडिनन् । त्यसको फलस्वरूप पछिल्लो समय उषा ‘सुन लड्की’ बन्ने अवसर पाएकी छन् । त्यसो त उषाले बलिउड संघर्षका क्रममा केही पेपर एड, टेलिविज्ञापनमा मोडलिङ गरिसकेकी छन् ।
तर, उनको एउटै लक्ष्य अभिनेत्री बन्नु हो । आफूलाई मनीषा कोइराला भन्न रुचाउने उषा ‘सुन लड्की’ बाट बलिउडमा पाइला राख्दै छिन् । यसैबेला अभिनेत्री मनीषा भने मुम्बईमा आराम गरिरहेकी छन् 

How about this Article

No comments:

Leave a Reply